महान् ग्रीक दार्शनिक अरिस्टोटल भन्छन्, “दुई फरक देहको जब एउटै आत्मा हन्छ, त्यो सच्चा प्रेम हुन्छ ।” प्रेमका विषयमा फरक फरक धारणाहरु छन्, यद्यपि प्रेमबिना यो संसारको अस्तित्व रहदैन भन्ने कटुयथार्थबाट भने कोही पनि असहमत नहोलान् । प्रेम नै यस्तो तत्व हो जसले सबैलाई एउटै कसीमा बाँध्दछ । कुनै पनि जात, धर्म, क्षेत्र, लिङ्ग वर्ण आदिका आधारमा प्रेमले भेदभाव गर्दैन । प्रेम अनन्त कालदेखि यो बह्रमाण्डमा विद्यमान छ जसले शान्ति, अमनचयन स्थायित्व कायम गर्दछ र खुुसहाल जिन्दगी जिउन मद्दत गर्दछ । प्रेम मान्छेपिच्छे, समयपिच्छे, सम्बन्धपिच्छे फरक देखिन सक्छ जस्तै प्रेमी र प्रेमिका बीचको प्रेम, बाबुआमा र छोराछोरी बीचको प्रेम, साथी–साथी बीचको प्रेम, गुरु र विद्यार्थी बीचको प्रेम, आदि । जस्तो सुकै सम्बन्धमा भएपनि प्रेम आखिरमा प्रेम नै हो जसले मुटुमा आफ्नो स्थान जमाउँछ र अपनत्वको आभाष गराउँछ । यही प्रेमकै विषयवस्तुलाई लिएर थुप्रै कृतिहरुद्वारा लेखकहरुले आफ्ना पात्रहरुलाई साहित्य जगत्मा अमर तुल्याएका छन् । आज एक्काइसाँै शताब्दीको उत्तरार्दतिर आइपुग्दा पनि हामीले रोमियो र जलियटलाई बिर्सन सकेका छैनाँै, लैला र मज्नुलाई बिर्सन सकेका छैनौँ, सलिम् र अनारकलीलाई बिर्सन सकेका छैनौँ, शाहजहाँ र मुमताजलाई बिर्सन सकेका छैनौँ । यस्तै ‘क्लासिकल’ प्रेमलाई आधुनिक श्रृंगारका साथ नेपाली साहित्य जगत्मा हालै उपन्यासकार सुविन भट्टराईले पस्केको कृति हो – साया ।
साया, सुबिन भट्टराईको दोस्रो उपन्यास र तेस्रो कृति हो । दोस्रो कृति समर लभ को सिक्वेलको रुपमा बजारमा आएको साया उपन्यास एउटा वयस्क प्रेमी जोडीको कथा हो । मुख्य पात्रहरु–साया र अतित–यस पुस्तकका धरोहर हुन् जसले वयस्क पाठकका हृदय कम्पायमान गराउन सक्ने सामथ्र्य राख्दछन् । समर लभ पढिसकेका पाठकका मनमा रहेका थुप्रै जिज्ञासा र प्रश्नहरुको रहस्योद्घाटन सायाले गरेको छ । अतितको एकोहोरो कोणबाट लेखिएको समर लभमा थुप्रै छेदहरु थिए । एकोहोरो भएकै कारण निष्पक्ष पनि थिएन जसकारण पाठकका मनमा थुप्रै प्रश्नहरु उब्जाउने काम ग¥यो । पाठकवर्गका तिनै प्रश्नहरुको उत्तर खोज्न र जिज्ञासालाई सुल्झाउनका लागि सुबिन भट्टराईले सबै सक्षम ल्याएका छन् उपन्यास–साया ।
मुख्य पात्र सायाको कोणबाट लेखिएको उपन्यास सायामा लेखक भट्टराईले अगिल्लो उपन्यासमा उब्जेका प्रश्नमालाहरुको उत्तर दिन उपन्यासको कटघरामा अतित र सुस्मितालाई पनि खडा गरेका छन् । उपन्यासका पानाहरुसँगै, एकपछि अर्को प्रेमका विभिन्न रङ्गहरु खुलाउन पछि परेका छैनन् –लेखक सुबिन भट्टराई ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स (सीडीइएस), कीर्तिपुरबाट शुरु भएको अतीत र सायाको प्रेम कहानी ओस्लोसम्म पुग्दा आएका उतारचढावलाई निकै सुष्म तरिकाले व्याख्या गरिएको यस उपन्यासमा अधिल्लो उपन्यासभन्दा सुधारिएको भाषाशैली प्रयोग भएको आभाष हुन्छ, पाठकवर्गलाई । लेखकको प्र्रोलगबाट शुरुवात भएको यो उपन्यास, सायाले अतितलाई वेस्वास्ता गर्नु र लेखकलाई सम्पर्क गर्नुको वर्णनसँगै अगाडी बढ्दछ । आधुनिक युवापिुस्ताले आफ्नो एक्लोपनको साथी बनाउने रक्सी र चुरोटको प्रसङ्गलाई उपन्यासमा समावेश गरेर उपन्यासकारले धुम्रपान र मध्यपान स्वास्थ्य र सम्बन्ध दुवैका लागि हानिकारक रहेको सन्देश प्रवाह गरेका छन् । यतिमात्र नभई दुई पुस्ताबीचको दुरी –जेनेरेसन ग्याप–ले सिर्जना गरेको भीषम् परिस्थितीलाई पनि उजागर गरेर युवापुस्ताको मन जित्न सफल देखिन्छन् लेखक भट्टराई ।
अतीतको बाल्यकालको वर्णन गरेर र थुप्रै मसलेदार संवादको संयोजन गरेर उपन्यासकारले व्यङ्ग्य समेत प्रस्तुत गरेका छन् । उपन्यासको श्रीगणेशसँगै भावुकताको गहिराइमा चुर्लुम्म डुबेका पाठकवर्गलाई यस्तै कुराहरुले हाँस्न बाध्य बनाउँछन् ।
खसीको मासु पकाइएको थियो । मीठो लाग्यो ।
सोधैँ, ‘यो मासु पकाउने चै को हो ?’
‘भाउजू नि !’ बहिनी प्वाक्क बोली, ‘अरु को हुन्थ्यो र ?’
‘ए’, सोयाको मुड फिर्ता ल्याउन उसलाई जिस्क्याउने हिसाबले भने, ‘त्यसैले पो राँगाको गन्ध आएको ।’
....................‘धेरै दिनसम्म ब्रस गरेन भने खानेकुराहरु यस्तै गनाउन थाल्छ अरे’, के कम थिई साया, च्वास्स घोचिहाली मलाई । मेरो त बोली नै बन्द ।
प्रेम, उपन्यासको विषयवस्तु भएपनि साया र अतीतबीचको प्रेमको धारिलो काँडा हो–उनीहरुको जात । वर्षौदेखि रहिआएको जातीय विभेदलाई तोड्न सक्ने सामथ्र्य अतीत शर्मा र साया शाक्यको प्रेममा छ कि छैन ? साया र अतीतबीचको प्रेम कसरी टाढिदै जान्छ ? अतीत र सुस्मिताबीचको यौनसन्बन्ध क्षमायोग्य छ कि छैन, कमसेकम सायाका नजरमा ? अतित शर्मा र साया शाक्याको परिवार के सधैका लागि दुश्मन बन्छन् त ? –यी र यस्ता थुप्रै प्रश्नहरुको उत्तर पाउन एकपटक सायाका पानालाई पल्टाउनै पर्छ । युवावर्गको मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएको यो उपन्यास पढिरहदा हरेक युवापुस्तालाई अनि हरेक प्रेमीलाई आफ्नै घटना झै लाग्न सक्छ, आफ्नै प्रेमको वर्णन झै लाग्न सक्छ । सायाका हरेक पाना पल्टाइसँगै पाठकले आफूलाई बिर्सदै जानेछन् र उपन्यासको अन्त्य अन्त्यतिर आउँदा आफ्नै आँखाबाट आँसु छचल्किएको समेत पत्तो पाउनेछैनन् किनकी साया पढिरहँदा पाठक पाठक नभएर पात्र बन्नेछन् ।
फाइनप्रिन्टले प्रकाशन गरेको साया उपन्यास विभिन्न दृष्टिकोणबाट सफल उपन्यासको कित्तामा उभिन सक्षम भएपनि यसका कमीकमजोरीहरु पनि रहेका छन् । मनै लोभ्याउने आवरणको पछाडी राखिएको संक्षिप्त लेखमा ‘जिज्ञासा’ हुनुपर्नेमा ‘जिज्ञास’ मात्र छ । त्यस्तै, उपन्यासभित्र पनि ठाउँठाउँमा त्रुटिहरु भेट्न सकिन्छ । चिन्हको प्रयोग पनि केही ठाउँमा उपयुक्त तरिकाले गरेको देखिदैन । पृष्ठ संख्या ८ को शुरुकै उद्धरण चिन्ह सही तरिकाले प्रयोग गरिएको छैन । उपन्यासकै कथावस्तु चिहाउँदा, सुस्मिता पात्रलाई मात्र पुलका रुपमा उभ्याइएको छ । सुस्मिता पात्रको परिस्थति केलाउँदा यस्तो लाग्छ कि लेखकले मुख्य पात्रहरु अतीत र सायालाई मात्र ध्यानमा राखी उपन्यास लेखेका छन् । सुस्मिताको एकहोरो प्रेमको फाइदा लेखकले भरपूर उठाएको प्रतित हुन्छ । उपन्यासमा कथित ‘उच्च’ वर्ग मानिएको अतीतको ‘बाहुन’ परिवारले अतीत र सायाबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई बिना कुनै रोकतोक सहर्ष स्विकारेको पाइन्छ । यद्यपि हाम्रो समाजको वास्तविकता भने ठ्याक्कै विपरीत छ । यस कोणबाट हेर्दा लेखकले वास्तविकता लुकाउन खोजेका हुन् कि भन्ने आशंका उत्पन्न हुन्छ ।
विभिन्न कमीकमजोरीका बाबजुतपनि साया उपन्यासको कथावस्तु निकै सशक्त छ । सरल र कसिलो भाषाको प्रयोग गरिएको यस उपन्यासमा कुत्कुत्याउने प्रेमदेखि आँशु चुहाउने वियोगसम्को वर्णन छ । बाल्यकालका रमाइला प्रसङ्ग, उट्पट्याङ् सम्बाद र यौवनका रसरङ्गले उपन्यासमा सुनमा सुगन्ध छरेको छ ।
वातावरण विज्ञानमा स्नातकोत्तर गरेका सुबिन भट्टराईले आफ्नो पहिलो कृति कथाकी पात्र २०६७ सालमा प्रकाशित गरेका थिए । त्यसैगरी, उनको दोस्रो कृति एवम् पहिलो उपन्यास समर लभ २०६९ सालमा प्रकाशित भएको थियो र त्यस सालको ‘बेस्टसेलर’ कृतिको सूचीमा आफूलाई उभ्याउन सफल भएको थियो । समर लभको सिक्वेलको रुपमा आएको साया उनको तेस्रो कृति हो । लेखकको ‘एपिलग’ सँगै समापन भएको कथावस्तुले अर्को पुस्तक लेख्नका लागि प्रशस्त ठाउँ राखिदिएको छ । फाइनप्रिन्टले प्रकाशन गरेको यो उपन्यास २०७१ भदौ महिनादेखि सर्वत्र बजारमा उपलब्ध छ ।
zealsubedi@yahoo.com
Published on (with some changes) :
http://www.zestkhabar.com/2014/12/19/11858
2 comments:
गजबको समिक्षा दाजु.........
Thanks Bro....
Post a Comment