“सुजेन”
“हजुर”
“ ढिडो खान मुन्टीहाल । बारीमा बाँदर लागेको छ , तेरो बाउलाई पालो दिनुपर्छ । झट्ट आइज ।”
“ल आँए ।”
सुजेन आफ्नी आमाको आज्ञा शिरोपर गर्दै भान्साकोठातिर दौड्यो । आमाले सिलौटको थालमा ढिडो र बटुकामा कडी हालिदिनुभयो । सुजेन भने काठको पिर्कामा बसेर चोरी औँला डुबाउदै (मोहीबाट बनाएको) कडी चाख्न थाल्यो ।
“तैले हात धोइस् ?” सन्देहपूर्ण प्रश्न गरिन् आमाले ।
“नाइँ, बिर्सेँछु ।” निर्दोष पाराले जवाफ फर्कायो सुजेनले ।
“जा, लोटाको पानीले हात धोएर आइज ।”
सुजेन लोटा बोकेर बाहिर गयो, हात धोयो र बाख्राका साना पाठापाठी झैं उफ्रिँदै आएर ढिडो खान थाल्यो ।
घडीको सुइले बिहानको नौ बजाइसकेको थियो । सिमलपानी बासीलाई समयमसँगै दौड्नुपर्ने हतारो थियो । सिमलपानी–नेपालको अर्घाखाँची जिल्लाको एउटा विकट बस्ती । जुन बस्ती घना सल्लाघारीको केन्द्रमा अवस्थित छ । सात÷आठ घर धुरीले सिङ्गो गाउँकै अस्तित्वलाई नै बचाइराखेको छ नत्र त गाउँ उहिल्यै जङ्गलमा विलय भइसक्थ्यो । निकै टाढा रहेका घर मध्येको एउटा घरमा सुजेनको परिवारको गुजारा चलेको थियो ।
सुजेनले भर्खर कक्षा तीनमा आफ्नो कलिलो पाइला सारेको थियो । पढ्न पनि एक घण्टाको लामो बाटो हिँडेर पल्लो गाउँ पुग्नुपथ्र्यो । आमाको हतार सधैँ सुजेनलाई समयमै पठाउनमा हुन्थ्यो । त्यो दिन पनि सुजेनले खाना खाइसकेपछि हात–मुख चुठाएर, राम्रो बनाएर स्कूल पठाइन् आमाले ।
सुजेनलाई स्कूल पठाइसकेपछि सुजेनकी आमा आफ्नो श्रीमान्लाई पालो दिन गइन्–बारीतर्फ । लगाएको आधाजासो गहुँ र लटरम्म फलेका तिजु बाँदरले सखाब पारिसकेको थियो । बारीको त्यो हविगति देखेपछि उनले श्रीमान्लाई भनिन् – “तिजु त खायो खायो, बाँदरले बारीको गहँु पनि सखापै पारेछ है !”
“हेर न, के गरुँ ! बाँदरले त हामीलाई यो सालको गहँु खान देला जस्तो छैन ।” श्रीमान्ले आफ्नो नैरश्यता पोखे । उनी अगाडी भन्दै थिए – “के गर्ने घर पनि सल्लाघारीको बीचमा प¥यो, बस्ती नि साह्रै पातलो छ । नत्र त सबै मिलेर बाँदर खेद्न हुन्थ्यो ।”
“अब बाँदरलाई धपाउने मात्र एउटा विकल्प छ ।” लामो सास फेर्दै उनले भने ।
“त्यो के नि ?” सुजेनकी आमाको जिज्ञासा थियो ।
उनी भन्दै थिए “मैले सुनेको – एउटा बाँदर मारेर झुण्डाएर राख्यो भने अरु बाँदर डराएर आउदैनन् रे !”
“जसरी हुन्छ गहुँ त बाँदरबाट बचाउनै पर्छ, नत्र त साल भर के खाने?” सुजेनकी आमाको डर र साहस एकसाथ मिसिएको प्रतिक्रिया थियो ।
एकछिनको कुराकानीपश्चात् सुजेनको बाबाले आफ्नी श्रीमतीलाई आँटीमा लुकाइराखेको भरुवा बन्दुक लिन पठाए । सुजेनकी आमाले बन्दुक ल्याएर आफ्नो श्रीमान्लाई सुम्पिदिइन् अनि गाईवस्तु भोकाएको र घाँस काट्न अबेर भएको बताइन् । श्रीमान्ले बाँदर हेर्ने र श्रीमती घाँस काट्न जाने सल्लाहा भएपछि सुजेनकी आमा गाईवस्तुलाई घाँस काट्न खरबारीतर्फ लागिन् । सुजेनका बुबा भने बाँदर मार्ने अभिलाषाका साथ बाँदरको प्रतिक्षा गर्न थाले ।
घरवरिपरी सल्लाको बाक्लो वन भएकाले घाँस काट्न घण्टौं टाढाको खरबारीमा जानुपर्ने बाध्यता थियो – सुजेनकी आमालाई । बाटोमा अनेक कुरा उनको मानसपटलमा सलबलाउन थाले । आफूले आधा जीवन जेन–तेन काटेको भए पनि आफ्नो एक्लो छोरो सुजेनको भविष्यप्रतिको चिन्ताले गाँज्न थाल्यो । “बाँदरले बारी मात्र नखाइदिने हो भने पनि जीवन अलि बिसेक हुन्थ्यो होला ।” अनायासै यस्ता विचारले उनको मस्तिष्कमा डेरा जमाउन थाले ।
घडीले साझँको चार बजाउँदै थियो । सुजेनको स्कुलमा पालेदाइले बिदाको घण्टी ‘टिनिन्न’ बजाए । सवै विद्यार्थी आ–आफ्नो घरतिर दौडन थाले । सुजेन पनि भकुन्डो उफ्रिएझँै उफ्रिँदैै घरतर्फ लाग्यो । करिब चालिस मिनेटको बाटो हिडेपछि ऊ घर पुग्यो । घरको दैलोमा ठूलो ताल्चा झुन्डिएको थियो । उसले आफ्ना आमा बुबालाई घरवरिपरि हे¥यो तर देखेन । नजिकै खोपामा उसले चाबी देख्यो अनि आत्तिँदै ढोका खोल्यो । उसले एउटा कुनामा फ्यात्त झोला फ्याक्यो र खाजा खोज्न थाल्यो । निकै भोकाएर आएको सुजेनले खाजा नभेट्टाएपछि उसलाई के गरौँ र कसौ गरौँ भयो । ऊ भोकले छट्पटाउन थाल्यो ।
सुजेनकी आमा खरबारीबाट घाँस काटेर फर्कदै थिइन् । घाँसको भारी सँगसँगै पारिवारिक पिडा, गरिबीपन र भविष्यप्रतिको चिन्त्ता पनि मनको डोकाभरि बोकेकी थिइन् । सुजेनका बुवा भने बाँदर आउने प्रहर कुरेर बसेका थिए । साह्रै सताइएका उनी पट्यारलाग्दो दिनमा पनि एक्लै बारी हेरेर बसेका थिए – अरु थुप्रै कामहरु जहाँको त्यही थाती राखेर । “के खोज्छस् कानो आँखो” भनेझै अचानक एक हुल बाँदर उनका आँखामा परे । उनले बाँदर भएनजिकै गएर निसाना लगाए । तर बाँदरले भने उनको क्रियाकलाप निसाना लगाउनु अगावै सुइँको पाए र त्यहाँबाट कुलेलम ठोकिहाले ।
बाँदरले खेलेको त्यो लुकामारीले सुजेनका बुवालाई निकै रिस उठाएको थियो । एक त सबै काम बिर्सिएर दिनभर बाँदरबाट छुटकारा पाउन जुक्ति निकालेको, त्यही माथि सोचेको काम पनि हातबाट फुत्किदा रिसको त सिमा नै थिएन । त्यत्तिकैमा, बारीबाट ‘सर्याक्क सुरुक’ आवाज आउँछ र उक्त आवाजले उनलाई सतर्क बनाइदिन्छ । निकै संयवित भएर उनले आवाज आएतिर आफ्ना इन्द्रियहरु टाठा बनाए । अलि बेरसम्म पनि आवाज बन्द नभएपछि आवाज आएतिरै उसले बन्दुकको निसाना लगाए । निसाना लगाइन्जेल उनको आँखामा अघि नै भागेका एक हुल बाँदर नाचिरहेका थिए । त्यही दृश्य मानसपटलमा सेलाउन नपाउँदै उनले बन्दुकको ‘ट्रिगर’ नजिकै आफ्नो चोर औँला पुर्याए । सोच्नु नै के थियो र ! बाँदरबाट अब छुटकारा पाइने भयो भन्ने सोचाइले नै उनको मुटु नाच्न थालिसकेको थियो । चोर औंलाले ‘ट्रिगर’ के दबाएका थिए, बन्दुकबाट ‘ड्याङग’ गर्दै आवाज निस्क्यो । निसाना ताकेको ठाउँबाट पनि ‘घद्र्याक्क’ गर्दै ठूलो आवाज निस्केको मात्र के थियो, सुजेनका बुवा कन्चटबाट आलो रगत तपतपी चुहाउँदै भुइँमा ‘डङ्रङ्ग’ लडे ।
एकैछिनमा मान्छेको ठुलो भिड जम्मा भयो । गाउँलेको आँखामा पिडारुपी अश्रुधाराहरु अनायासै चुहिन थाले – तप्पतप्प । सुरक्षा प्रदान गर्ने भनेर खटिएका सादा पोसाकका प्रहरी जवानहरु समेत अवाक् थिए । घटना घटेको केही पलमै सुजेनकी आमा हस्याङ् र फस्याङ् गर्दै घटनास्थलमा आइन् । आफ्नै श्रीमान्को विभत्स् मृत शरीर देखेपछि पृथ्वी नै कम्पायमान हुनेगरी चिच्याइन् । उनका अश्रुहरु हिमश्रृंखलाबाट अनवरत बग्ने हिमनदी झै बगिरहे, झरिरहे । उनी एकटकले हेर्दै भुइँमा पछारिइन् – सदाका लागि । गाउँलेले प्रहरीलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्न थाले । भिड निकै उक्तेजक हुन थालेपछि गोली चलाउने प्रहरी जवानले मुख फोरे – “एउटाको सुरक्षा गर्दा अर्काको ज्यान लिनु प¥यो । यो रहर थिएन बाध्यता थियो । परिस्थिति नै त्यस्तो भयो की गोली चलाउन बाध्य भयौ ।” सबै गाउँलेहरु कुरा नबुझेझै मुखामुख गर्न थाले । कसको सुरक्षार्थ उनको ज्यान गयो ? भन्ने प्रश्न सबै गाउँलेको प्रमुख चिन्त्ताको विषय थियो तर मुचुल्का उठाउन आएको अर्को प्रहरी टोली सुजेनको लास बाकेर ल्याएपछि घटनाको भेद खुल्यो । यसरी एउटा सिङ्गो परिवारले एकै ठाउँमा समाधि लियो – शाररीक समाधि अनि भ्रमको समाधि – सदाका लागि......।
- zealsubedi@yahoo.com
0 comments:
Post a Comment