
कपिल मुनिहरुको पवित्र भूमि, कपिलवस्तु जिल्लाको सानो गाऊँ ठाकुरापुरमा मेरो जन्मभएको थियो । पानी, बिजुलीबत्ती, चर्पी, सिंचाई, शिक्षा, अस्पताल सबैको सुविधा उपलब्ध तर शहरीया रवाफले भने छुन सकेको थिएन–मेरो गाउँलाई । बुवाआमा, हजुरआमा र म घरमा आनन्ददायी जिवन विताईरहेका थियौं । हाम्रो जिवनमा अभाव भन्ने चिज नै थिएन भन्दा पनि भयो ।हुन त मान्छेको जिन्दगी अभावै अभावमा जिउने हो, यद्यपी बुवाआमा र हजुरआमाले गरेको पालनपोषण र शिक्षादिक्षामा मैले अभावको एक निमेष पनि भेट्टाईन ।
बुवा पेशाले किसान हुनुहुन्थ्यो । घरमै अन्नबाली र सागसब्जी उब्जाउनु हुन्थ्यो । घरमा बढी भएको बजारमा लगेर बेच्नुहुन्थ्यो । त्यहीं बेचेर आएको रकमपैसाले घरखर्च जेनतेन चलेकै थियो । घरमा हजुरआमा उमेरले सबैभन्दा जेठी हुनुहुन्थ्यो । उहाँका चाउरीएका गालामा एक प्रकारको चमक थियो । जुन मैले गाउँका अरु हजुरबा, हजुरआमाहरुमा भेट्टाउदैनथें । हजुरआमाको त्यो चमकलाई दिर्घायु बनाउन मैले कैयौं पटक उहाँलाई झुक्काएर म्वाई खाएको छु । हजुरआमाको बुढो ढाडमा सुरेली खेलेको छु । हजुरआमाको जुम्रा हेरिदिने निउँमा कैयौं पटक कपाल तानिदिएको छु । हजुरआमाले छतको डिलमा राखेको मनिप्लान्टको गमलामा“पैसा फलेछ”भनेर कतिपटक जिस्क्याएको छु ।
हजुरआमालाई मात्र होइन, बुवाआमालाई पनि कम्ति सताईन मैले । बुवाले छड्के पारेर शिरमा लगाउने ढाकाको टोपी मलाई खुव मन पथ्यों । त्यहीं टोपी खुसुक्क लुकाएर म साथीसंग चुङ्गी खेल्थे । जब टोपी धुलैधुलो हुन्थ्यो,बुवा सुत्ने खाटमा ल्याएर मैले सुटुक्क राखिदिन्थें । बुवाले “मेरो टोपी कसले यस्तो बनायो?” भनेर सोध्नुहुन्थ्यो । “मैले होइन”भनेर कतिपटक जवाफदिने साहस गरें तर शब्द फुट्नु अगावै मलाई कामज्वरो आएजस्तो हुन्थ्यो । मेरो शरीर लगलगी काँप्थ्यो ।म काँपेको देखेपछि बुवाले थाहा पाईहाल्नुहुन्थ्यो । अनि मलाई सुम्सुम्याउँदै काखमा लिनुहुन्थ्यो । मेरा थर्थराएकाओठहरुमा मुस्कान ल्याउनअकबर र बीरबलको कथा सुनाउनुहुथ्यो ।
आमाको टिकी त झन् मलाई चन्द्रमा झैं लाग्थ्यो । आमाले बजारबाट ल्याउनु भएका टिकीहरु त म, अनुहार भरी टाँसेर हिड्थें । किताबमा भएका मान्छेका चित्रहरुमा पनि मैले टिकी लगाईदिन्थे । “यस्तरी हामीलाई दुःख दिनुहुँदैन”भनेर आमाले कति सम्झाउनु भयो तर मेरो चकचक गर्ने बानी, अहँ, छुट्दै छुटेन ।
समय यसरी नै रमाईलोमा बित्दै थियो । घरमा सबैको चासोको विषय थिएँ म । मैले पाउने माया सायदै कसैले पाएको होस्– यो संसारमा । मैले त्यति अपार माया पाएको थिएँ । समयको चक्रसँगै म पनि हुर्कदै थिएँ , बढ्दै थिएँ । मेरो बढ्दो उमेरसँगै ममा परिवर्तन आउनु स्वभाविक पनि थियो । मेरो शरीरमा कताकता काउकुती लाग्न थालिसकेको थियो । अरुभन्दा राम्रो हुनुपर्ने, “हिरो” देखिनुपर्ने स्वभाव जागिसकेको थियो तर मेरो चञ्चलता भने कम हुने नामोनिसान थिएन ।
बाटोमा हिँड्दा ढकमक्क सजिएका युवतीहरुलाई मौका छोपेरआँखा झिम्काई दिन्थे । उनीहरु लाजले भुतुक्क भएर शिर निउराएर हिड्थे । जब घर फर्किएर बुवाआमाले पढ्न भन्नुहुन्थ्यो म प्रेमपत्र कोरेर बस्थें । प्रेमपत्रमा आउने प्रेमिकाहरु कहिले समिक्षा त कहिले करुणा हुन्थे, कहिले आशिका त कहिले श्रद्धा हुन्थे ।
एकदिनको कुरो हो, सधैं झैं त्यो दिन पनि म स्कूलबाट घर फर्किएँ– अनेक उट्पट्याङ्ग गर्दै । घरमा के पुगेको थिएँ, बुवाले नराम्रोसँग झपार्नु भयो । आमाले पनि“धेरै पुल्पुलिएर यस्तो भ’को” भनेर आगोमा घिऊ थप्नुभयो । सधैं मेरो साथ दिने हजुरआमा क्वारक्वारर्ती तमसा हेरिरहनु भएको थियो । उहाँको त्यो हेराईले पनि मौन सहमति जनाएको झै लाग्थ्यो–बुवाआमाको कर्तबसँग ।
भोलिपल्ट म स्कूल गएपछि पो थाहा पाएँ, मलाई माया गर्ने मान्छेहरु मै माथि किन खनिए भनेर । नेपाली बिषय पढाउने शिक्षकलाई गृहकार्य जाँच्न कापी दिएको थिएँ– मैले दुई दिन अघि । उहाँले गृहकार्य जाँच्दा जाँच्दै मैले कोरेका प्रेमपत्रहरु पनि भेट्टाउनु भएछ । अनि उहाँले नै घर बुवाआमालाई खबर गरिदिनुभएछ । सरले मलाई कापी दिदैं “ कापीमा यस्तो जथाभावी लेख्नुहुदैन”भनेर सम्झाउनुभयो तर उहाँका ति शब्दहरुले मलाई काँडासरी घोचे । त्यसैले रिसको झाेंकमा मनमनै नाम राखिदिएँ–“दहीचिउरे” ।
मेरा प्रेमपत्रहरु पर्दाफास भएदेखि मलाई घरमा अनि स्कूलमा निकै कडा गर्न थालियो । मेरो सानो भुलमा पनि मैले ठूलो गाली सहनुपथ्यों । कहिल्यै गाली भनेर एक शब्द पनि नसुनेको मलाई हरेक क्रियाकलापमा चर्को स्वर सुन्दा दिमाग तातेर आउँथ्यो । सक्दो हुँ त म गाली गर्ने मान्छेको मुख सिलाई दिन्थें तर फगत् ममा त्यस्तो गर्न सक्ने सामर्थ्य थिएन ।
मेरो यौवनभन्दा मेरो वाक्यकाल नै ठीक थियो – म एक्लै कोठामा हुँदा सोच्ने गर्थे । कमसेकम सबैको माया र स्नेह त पाएको थिएँ । आफू स्वतन्त्र हुनुको मज्जा लुटेको थिएँ तर यौवन अवस्थाले मेरो जीवनमा रङ्ग के पोत्दै थियो सबैले एक पछि अर्को प्रश्नचिन्ह खडा गरेर श्यामश्वेत बनाईदिए । बिहानै उठ, खाजा खाऊ, पढ्न बस, खाना खाऊ, स्कूल जाऊ, घर फर्क, खाजा खाऊ, गृहकार्य गर, खाना खाऊ अनि सुत – यहीं दिक्कलाग्दो दिनचर्याले मेरो जीवन उराठलाग्दो बनाएको थियो ।
अति नै भएपछि एकदिन स्कूलबाट फर्केर जे होस् होस् भनि साथीसँग खेल्न गएँ । एकैछिन् नै किननहोस् , जिन्दगीमा स्वतन्त्रताको अनुभव फेरी बटुले । शरीर र मन दुबैलाई हलुका पारें अनि घर फर्किएँ । हजुरआमाले सिढीं नजिकैको अँगेनामा कुँडेमा दुध तताउँदै हुनुहुन्थ्यो , आमाभने भित्र भान्सामा खाना बनाउदै हुनुहुन्थ्यो । त्यहीबेला मैले घरभित्र पाईला के राख्न आँटेकोे थिएँ ,बुवाले निकै गाली गर्नुभयो । तनमन दुबै बोझिलो भयो । आमाले पनि बुवाको साथ दिदैं सम्झाउन थाल्नुभयो । मेरो भने कन्सिरी तातेर आयो । रिसको झोंकमा म छतमा उक्लिएँ । बुवाआमा कराउँदै हुनुहुन्थ्यो त्यहीबेला हजुरआमाले सम्झाउने हेतुले भन्नुभयो “नाती रिस नाकमा बोकेर हिड्नु हुँदैन । यसले आफैलाई खान्छ । त्यसैले रिसलाई थुकिदें, बरु आईज तैंले र मैले दुध तताम् ।” रिसले चुर भएको मलाई ती शब्दहरुले घाऊमा नुनचुक छर्नै काम गरे । रिसले आँखा नदेखेको मैले त्यसपछि आफ्नो खुट्टा बजारें– छतको डिलैनेर ।
एक्कैछिनमा कोलाहल मच्चिन थाल्यो – घरमा। गाउँलेहरु एकाएक जम्मा हुन थाले ।एकछिन पछि जब मेरो रिस शान्त भयो, मैले देखें – छतको डिलमा राखेको मनीप्लान्टको गमला गायब थियो । तल हजुरआमा भने दुध तताउँदा तताउँदै लम्पसार पर्नु भएको थियो ।
“मेरो घटनाक्रम यत्ति नै हो सर ।” – बयान लिईरहेको प्रहरीलाई भनेँ ।
एकटकले हेरिरहेको प्रहरीसँग मेरो नजर जुध्यो । त्यसपछि मेरो शरीर थर्थरी काँप्न थाल्यो ।
-zealsubedi@yahoo.com