Tuesday, December 23, 2014

संयोग


 हो,म झुटको खेति गर्दै गर्दिन । कुनै बेला झूठ नै बक्नुपर्ने अवस्था आईलाग्यो भने म टिक्नै सक्दिन । मेरा हातगोडाहरु काँप्न थाल्छन्, मेरो पुरै शरीर थर्थराउन थाल्छ । अनि अरुलाई भ्रममा राख्ने मेरो अभिलाशा क्षतविक्षत हुन्छ । अरुले सजिलै थाहापाउने काम गर्नुको पनि के औचित्य रहन्छ र? त्यसैले पनि आज म सबै सत्यतथ्य घटनाक्रम बताउँदै छु ।
     
कपिल मुनिहरुको पवित्र भूमि, कपिलवस्तु जिल्लाको सानो गाऊँ ठाकुरापुरमा मेरो जन्मभएको थियो । पानी, बिजुलीबत्ती, चर्पी, सिंचाई, शिक्षा, अस्पताल सबैको सुविधा उपलब्ध तर शहरीया रवाफले भने छुन सकेको थिएन–मेरो गाउँलाई । बुवाआमा, हजुरआमा र म घरमा आनन्ददायी जिवन विताईरहेका थियौं । हाम्रो जिवनमा अभाव भन्ने चिज नै थिएन भन्दा पनि भयो ।हुन त मान्छेको जिन्दगी अभावै अभावमा जिउने हो, यद्यपी बुवाआमा र हजुरआमाले गरेको पालनपोषण र शिक्षादिक्षामा मैले अभावको एक निमेष पनि भेट्टाईन ।
    

बुवा पेशाले किसान हुनुहुन्थ्यो । घरमै अन्नबाली र सागसब्जी उब्जाउनु हुन्थ्यो । घरमा बढी भएको बजारमा लगेर बेच्नुहुन्थ्यो । त्यहीं बेचेर आएको रकमपैसाले घरखर्च जेनतेन चलेकै थियो । घरमा हजुरआमा उमेरले सबैभन्दा जेठी हुनुहुन्थ्यो । उहाँका चाउरीएका गालामा एक प्रकारको चमक थियो । जुन मैले गाउँका अरु हजुरबा, हजुरआमाहरुमा भेट्टाउदैनथें । हजुरआमाको त्यो चमकलाई दिर्घायु बनाउन मैले कैयौं पटक उहाँलाई झुक्काएर म्वाई खाएको छु । हजुरआमाको बुढो ढाडमा सुरेली खेलेको छु । हजुरआमाको जुम्रा हेरिदिने निउँमा कैयौं पटक कपाल तानिदिएको छु । हजुरआमाले छतको डिलमा राखेको मनिप्लान्टको गमलामा“पैसा फलेछ”भनेर कतिपटक जिस्क्याएको छु ।
    

हजुरआमालाई मात्र होइन, बुवाआमालाई पनि कम्ति सताईन मैले । बुवाले छड्के पारेर शिरमा लगाउने ढाकाको टोपी मलाई खुव मन पथ्यों । त्यहीं टोपी खुसुक्क लुकाएर म साथीसंग चुङ्गी खेल्थे । जब टोपी धुलैधुलो हुन्थ्यो,बुवा सुत्ने खाटमा ल्याएर मैले सुटुक्क राखिदिन्थें । बुवाले “मेरो टोपी कसले यस्तो बनायो?” भनेर सोध्नुहुन्थ्यो । “मैले होइन”भनेर कतिपटक जवाफदिने साहस गरें तर शब्द फुट्नु अगावै मलाई कामज्वरो आएजस्तो हुन्थ्यो । मेरो शरीर लगलगी काँप्थ्यो ।म काँपेको देखेपछि बुवाले थाहा पाईहाल्नुहुन्थ्यो । अनि मलाई सुम्सुम्याउँदै काखमा लिनुहुन्थ्यो । मेरा थर्थराएकाओठहरुमा मुस्कान ल्याउनअकबर र बीरबलको कथा सुनाउनुहुथ्यो ।
    

आमाको टिकी त झन् मलाई चन्द्रमा झैं लाग्थ्यो । आमाले बजारबाट ल्याउनु भएका टिकीहरु त म, अनुहार भरी टाँसेर हिड्थें । किताबमा भएका मान्छेका चित्रहरुमा पनि मैले टिकी लगाईदिन्थे । “यस्तरी हामीलाई दुःख दिनुहुँदैन”भनेर आमाले कति सम्झाउनु भयो तर मेरो चकचक गर्ने बानी, अहँ, छुट्दै छुटेन ।
    

समय यसरी नै रमाईलोमा बित्दै थियो । घरमा सबैको चासोको विषय थिएँ म । मैले पाउने माया सायदै कसैले पाएको होस्– यो संसारमा । मैले त्यति अपार माया पाएको थिएँ । समयको चक्रसँगै म पनि हुर्कदै थिएँ , बढ्दै थिएँ । मेरो बढ्दो उमेरसँगै ममा परिवर्तन आउनु स्वभाविक पनि थियो । मेरो शरीरमा कताकता काउकुती लाग्न थालिसकेको थियो । अरुभन्दा राम्रो हुनुपर्ने, “हिरो” देखिनुपर्ने स्वभाव जागिसकेको थियो तर मेरो चञ्चलता भने कम हुने नामोनिसान थिएन ।
    

बाटोमा हिँड्दा ढकमक्क सजिएका युवतीहरुलाई मौका छोपेरआँखा झिम्काई दिन्थे । उनीहरु लाजले भुतुक्क भएर शिर निउराएर हिड्थे । जब घर फर्किएर बुवाआमाले पढ्न भन्नुहुन्थ्यो म प्रेमपत्र कोरेर बस्थें । प्रेमपत्रमा आउने प्रेमिकाहरु कहिले समिक्षा त कहिले करुणा हुन्थे, कहिले आशिका त कहिले श्रद्धा हुन्थे ।
 

एकदिनको कुरो हो, सधैं झैं त्यो दिन पनि म स्कूलबाट घर फर्किएँ– अनेक उट्पट्याङ्ग गर्दै । घरमा के पुगेको थिएँ, बुवाले नराम्रोसँग झपार्नु भयो । आमाले पनि“धेरै पुल्पुलिएर यस्तो भ’को” भनेर आगोमा घिऊ थप्नुभयो । सधैं मेरो साथ दिने हजुरआमा क्वाक्वार्ती तमसा हेरिरहनु भएको थियो । उहाँको त्यो हेराईले पनि मौन सहमति जनाएको झै लाग्थ्यो–बुवाआमाको कर्तबसँग ।
 

भोलिपल्ट म स्कूल गएपछि पो थाहा पाएँ, मलाई माया गर्ने मान्छेहरु मै माथि किन खनिए भनेर । नेपाली बिषय पढाउने शिक्षकलाई गृहकार्य जाँच्न कापी दिएको थिएँ– मैले दुई दिन अघि । उहाँले गृहकार्य जाँच्दा जाँच्दै मैले कोरेका प्रेमपत्रहरु पनि भेट्टाउनु भएछ । अनि उहाँले नै घर बुवाआमालाई खबर गरिदिनुभएछ । सरले मलाई कापी दिदैं “ कापीमा यस्तो जथाभावी लेख्नुहुदैन”भनेर सम्झाउनुभयो तर उहाँका ति शब्दहरुले मलाई काँडासरी घोचे । त्यसैले रिसको झाेंकमा मनमनै नाम राखिदिएँ–“दहीचिउरे” ।
 

मेरा प्रेमपत्रहरु पर्दाफास भएदेखि मलाई घरमा अनि स्कूलमा निकै कडा गर्न थालियो । मेरो सानो भुलमा पनि मैले ठूलो गाली सहनुपथ्यों । कहिल्यै गाली भनेर एक शब्द पनि नसुनेको मलाई हरेक क्रियाकलापमा चर्को स्वर सुन्दा दिमाग तातेर आउँथ्यो । सक्दो हुँ त म गाली गर्ने मान्छेको मुख सिलाई दिन्थें तर फगत् ममा त्यस्तो गर्न सक्ने सामर्थ्य थिएन ।
 

मेरो यौवनभन्दा मेरो वाक्यकाल नै ठीक थियो – म एक्लै कोठामा हुँदा सोच्ने गर्थे । कमसेकम सबैको माया र स्नेह त पाएको थिएँ । आफू स्वतन्त्र हुनुको मज्जा लुटेको थिएँ तर यौवन अवस्थाले मेरो जीवनमा रङ्ग के पोत्दै थियो सबैले एक पछि अर्को प्रश्नचिन्ह खडा गरेर श्यामश्वेत बनाईदिए । बिहानै उठ, खाजा खाऊ, पढ्न बस, खाना खाऊ, स्कूल जाऊ, घर फर्क, खाजा खाऊ, गृहकार्य गर, खाना खाऊ अनि सुत – यहीं दिक्कलाग्दो दिनचर्याले मेरो जीवन उराठलाग्दो बनाएको थियो ।
 

अति नै भएपछि एकदिन स्कूलबाट फर्केर जे होस् होस् भनि साथीसँग खेल्न गएँ । एकैछिन् नै किननहोस् , जिन्दगीमा स्वतन्त्रताको अनुभव फेरी बटुले । शरीर र मन दुबैलाई हलुका पारें अनि घर फर्किएँ । हजुरआमाले सिढीं नजिकैको अँगेनामा कुँडेमा दुध तताउँदै हुनुहुन्थ्यो , आमाभने भित्र भान्सामा खाना बनाउदै हुनुहुन्थ्यो । त्यहीबेला मैले घरभित्र पाईला के राख्न आँटेकोे थिएँ ,बुवाले निकै गाली गर्नुभयो । तनमन दुबै बोझिलो भयो । आमाले पनि बुवाको साथ दिदैं सम्झाउन थाल्नुभयो । मेरो भने कन्सिरी तातेर आयो । रिसको झोंकमा म छतमा उक्लिएँ । बुवाआमा कराउँदै हुनुहुन्थ्यो त्यहीबेला हजुरआमाले सम्झाउने हेतुले भन्नुभयो “नाती रिस नाकमा बोकेर हिड्नु हुँदैन । यसले आफैलाई खान्छ । त्यसैले रिसलाई थुकिदें, बरु आईज तैंले र मैले दुध तताम् ।” रिसले चुर भएको मलाई ती शब्दहरुले घाऊमा नुनचुक छर्नै काम गरे । रिसले आँखा नदेखेको मैले त्यसपछि आफ्नो खुट्टा बजारें– छतको डिलैनेर ।
 

एक्कैछिनमा कोलाहल मच्चिन थाल्यो घरमा। गाउँलेहरु एकाएक जम्मा हुन थाले ।एकछिपछि जब मेरो रिस शान्त भयो, मैले देखें – छतको डिलमा राखेको मनीप्लान्टको गमला गायब थियो । तल हजुरआमा भने दुध तताउँदा तताउँदै लम्पसार पर्नु भएको थियो ।

“मेरो घटनाक्रम यत्ति नै हो सर ।” – बयान लिईरहेको प्रहरीलाई भनेँ ।

एकटकले हेरिरहेको प्रहरीसँग मेरो नजर जुध्यो । त्यसपछि मेरो शरीर थर्थरी काँप्न थाल्यो ।



-zealsubedi@yahoo.com

2 comments:

Unknown said...

bada majja aayo hajur ko jiwan ko sano aanghsa sundha... ra aantim ma dhukha pani lagyo... prem prasanga le ta jhanai leekh lai rochak nai banaeko cha... sanai dekhi chineko bhaera hoki prem prasanga katai jhuto ho ki jasto lagyo... bhul bhaye maaf pau hai..

seriously well written and mostly words presentation are superb.. hope to get more frn u

Deewakar Subedi said...

Thanks Kiran for your precious comment. As you already know me from childhood days, this story is the fusion of reality and little imagination. Haha love barema aile ma kehi bolina.

Thanks again for your valuable suggestion. May your wishes always guide me to write more in the coming days.

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views