आफूले अधिकारको प्रयोग गरिरहँदा दायित्व बोध हुनु नितान्त आवश्यक छ भलै त्यो ब्लगिङ किन नहोस् :दिवाकर सुवेदी
कपिलबस्तुका दिवाकर सुवेदी त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दै छन् । साहित्यिक सामाग्रीहरु पढ्न र लेख्न मनपराउने दिवाकरलाई नयाँ साथी बनाउन , अभिनय गर्न , अरुलाई हँसाउन , नयाँ ठाँउ घुम्न र संगीत सुन्न पनि उत्तिकै मनपर्छ । आफ्ना रुचिका बिषयलाई कहिले कुनै विद्या मार्फत,कहिले कुनै पात्र मार्फत समेटिरहेका उनी ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छन् । मेरो रिर्पोटको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै दिवाकर सुवेदीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :
तपाईले आफुलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ ? बताइदिनुस् न ।
मलाई बुवाआमाले राखीदिएको नाम दिवाकर सुवेदी नै प्यारो लाग्छ । त्यसैले, म आफूलाई सोसल मिडियामा पनि दिवाकर सुवेदी नै भनेर चिनाउन चाहान्छु ।
ब्लगिङ गर्न कहिलेदेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ?
मैले व्लगिङ गर्न २०७१ साल साउन महिनादेखि सुरु गरेको हुँ । सुरुसुरुमा मैले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर लगायतमा आफ्ना बिचार र साहित्यिक अभिव्यक्तिहरु पस्किन्थे । पछिल्लो समयमा आएर सोही विचार र अभिव्यक्तिहरुलाई दिर्घकालसम्म सञ्चय गर्न र 'भर्चुअल' संसारको माध्यमबाट सबै माझ पुर्याउन ब्लगिङ गर्दै आएको छु ।
केका लागि ब्लगिङ गर्नुहुन्छ ? कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन ?
मनभित्रका “कुण्ठा” र “खुसी”हरु पोख्न, आफ्ना भोगाई र भावनात्मक अनुभुतिलाई छताछुल्ल पारी मन हल्का पार्न साथै सन्देशमूलक जानकारीहरु पस्किन ब्लगिङ गर्छु । मेरो रोजाईमा प्रायःजसो सामाजिक साँस्कृतिक बेथितिहरुले प्रधानता पाउँछन् ।
तपाईले http://zealsubedi.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ ?अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ त ?
यही मात्रै चलाउँदै आएको छु । सजिलो र गाह्रो भन्ने कुरा एउटा मान्छेले कसरी अनुभूत गर्छ भन्नेमा भर पर्दछ । कुनै कुरा आफैमा सजिलो या अप्ठ्यारो हुँदैन । परिश्रम हरेक कुरामा गर्नुपर्छ र मैले पनि आफ्ना कुराहरु राख्न ब्लगमा धेरथोर परिश्रम गर्ने गरेको छु ।
तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?
ब्लग पढ्ने प्रायस् आफ्नै साथीहरु छन् । उनीहरुले ब्लग पढिसकेपछि “अझै लेख्दै जान र आफूलाई निखार्न” हौसला प्रदान गर्ने गर्छन् ।
आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ? अनि कस्तो देख्नु हुन्छ ब्लगिङको भविष्य ?
हो, पछिल्लो समयमा युवा जमात ब्लगिङ प्रति लालयित भएको पाउँछु । यसो हुनुमा सुचना प्रविधिको विकास र पहुँच पनि एउटा कारक हो । सुचना प्रविधिको विकास सँगसँगैं राम्रा र नराम्रा कुराहरु पनि जोडिएर आउँछन् । यो कुरा ब्लगिङमा पनि लागू हुन्छ । नेपाली ब्लगिङलाई हेर्दा यो भर्खर बामे सर्ने क्रममा रहेको प्रतित हुन्छ । ब्लगिङलाई अझै परिष्कृत र परिमार्जित गर्दै लान सक्ने यथेष्ट मार्गहरु छन् , जसले ब्लगिङको भविष्य अझ फराकिलो र मजवुत बनाउन सक्छ ।
ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?
आफूले अधिकारको प्रयोग गरिरहँदा दायित्व बोध हुनु नितान्त आवश्यक छ भलै त्यो ब्लगिङ किन नहोस् । हरेक कुरा एउटा निश्चित परिधि भित्र रहेर गर्नुपर्दछ । ब्लगिङमा पनि अनुशासन हुनु जरुरी छ । सिमा नाघेर ब्लगिङ गर्नेहरुलाई नियन्त्रण गर्न र ब्लगिङलाई चुस्त दुरुस्त राख्न पनि आचारसंहिताको आवश्यक छ जस्तो लाग्छ मलाई ।
नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ? मुलधारका सञ्चार माध्यमले सोसल मिडियालाई कसरी प्रयोग गरेको पाउनु भएको छ ?
अहिलेसम्म जति पनि ब्लग पढेको छु, ती सबैमा आचारसंहिताको पालना भएको पाएको छु । मुलधारका सञ्चार माध्यमले सोसल मिडियालाई “घटना” र “विचार”आदान प्रदान गर्ने थलोका रुपमा प्रयोग गरेको झैं लाग्छ, जुन राम्रो कुरा हो, यद्यपी यस्तो कार्य गर्दा श्रोत नखुलाई लेख्ने प्रचलन बढ्दो छ । यसले मान्छेलाई बौद्विक चोरीको सिकार गराई रहे झैं लाग्छ ।
ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस् न ।
मेरा लेखहरु र साहित्यीक अभिव्यक्तिहरु सत्यताभन्दा पर नहोऊन् भन्ने हेक्का राखेर लेख्ने गर्छु । त्यसरी लेख्दा कहिलेकाही वास्तविक पात्र र घटनाहरु जस्ताको तस्तै उत्रन्छन् अनि तिनै घटनासँग सम्बन्धित पात्रहरुद्दारा “गाली” र “माया” दुबै पाउने गर्दछु । केही समय पहिला लेखेको कथा “कप्तान” पढिसकेपछि त्यस्तै प्रतिक्रिया पाएको थिएँ ।
केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ , के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
जसरी आँसु र पानी , पिसाव र पसिना फरक कुरा हुन् , त्यसरी नै ब्लगिङ र नागरीक पत्रकारीता पनि दुई भिन्न कुरा हुन् । ब्लगिङमा व्यक्ति बिशेषका रुचि, भोगाई,बुझाई र मुल्यांकन जस्ता कुराहरु बढि हुने गर्दछन् । त्यसैले ब्लगिङ र नागरिक पत्रकारीतालाई एउटै धरातलमा रहेर परिभाषित गर्नुपर्छ भन्नेमा म सहमत छैन ।
अन्त्यमा,
धन्यबाद !
Source: http://meroreport.net/