छाउपडीको अन्धबिश्वासमा
कुटील मुस्कान सजाएर
नाचीरहेछन्
नेताहरु
भ्रष्टहरु
प्रहरीहरु
पातकीहरु
क्रान्तिकारीहरु
ब्यभिचारीहरु
यथास्थितीबादीहरु
दुराचारिहरु
न्यामुर्तिहरु
पागलहरु
आफ्नै भजन गाएर
तिर्थयात्री बनेकाहरु
फगत् फोहोरी औंला ठड्याउदाछन्
बिर्सेंर पारदर्शी यथार्थ
-रगत्ताम्बे छ नितम्ब र जांघ
जहाँ
लाहाछाप लागेको छ अख्तियारको बर्षौ देखी
र पनि
बलात्कृत आँशु झार्न वाध्य छ अख्तियार
चुपचाप चुपचाप
हरेक नौ महिनामा फेरेर
आफ्नो नागरिकता
आमा बिर्सदाछन्
यहाँ देशभक्तहरु
पुरुष हुनुको पौरखीपन
पोखिरहेछ नागरिक समाज
दिपावली र बाजा-गाजा सहित
ठमेलका बन्द पर्खालभित्र
हरेक गल्लीहरुमा
जवान ठिटा ठिटीहरु
कायम गर्दैछन् धार्मिकसहिष्णुता
र सिकाउदैछन् बाड्नुको खुशी
साटेर शिव प्रसाद
देखाएर ताण्डब नृत्य
बेरेर बाघकै पारदर्शी मजेत्रो
अनि गाएर भजन
-सतिले सरापेको देश भोले
सतिले सरापेको देश...।।
बलिष्ठ पाखुराहरु
जब आफ्नैकाको पेटीकोट फेर्दिन तम्सिन्छन्
न्यायपालिका आँखामा पट्टी बाँधिदिन्छ
फगत्
हर रात गाउँका झुपडिहरुमा
फ्याकिन्छन्, बगाइन्छन्
बिना अस्तित्व
अबोध शिशुहरु
परिवर्तनका खातिर पठाउछ सरकार
बर्षेनी युवाहरु
बैदेशिक रोजगारिमा
र ब्यबस्था गर्छ देशभित्र
निशुल्क गर्भपतन
अनि चलाऊछ देश
पीडितले नै भित्राइदिएको
रेमित्यान्स गनेर
हरपल काटिने संत्रासमा बाँधिएका
मन्दिरका बोका सामुन्ने
एउटा काली भक्तले मन्नत मागेजस्तै
भाक्कल राख्छन्
अशिक्षित भनाउँदा नेपालीहरु
रामपिथेकस हिँड्न सक्ने बाटोको ।
आफ्नो भन्दा थोरै सही-
तर तुर्किने खाने पानीको धारो ।
मन्दिरमा आरती गर्दा झै
उज्यालिने बिजुली टुकी ।
अनि बुढेसकालमा गफिन मिल्ने
एउटा सानो झुपडी पाटी ।
देश र देशबासीका खातिर
मार्ने मर्नेहरु
मह देखाउछन् चुनाबी मुखमा
अनि
खोटोले मुख टालेर
भित्रिन्छन् बेहुली झै
सेफद भवन भित्र
देखाऊ मेराजस्तै हरेकका कुण्ठा लीलाम गरेर
अनि विश्वास गर्छु-
"असम्भब" मिथक रहेछ भनि
"परिवर्तन" अपरिहार्य छ भनि
कलेटी ओठहरुमा सजाऊ
एक निमेष आशाको त्यान्द्रो
मुस्कानको पुरातन झिल्को
अनि गाँउछु गीत छातीमा हात राखेर
-सयौँ थुङ्गा फुलका हामी
एउटै माला नेपाली ।।