"सर, अवन्तिकाको कथा सुनाउनुस्
न!" बिद्यार्थी माझबाट कोकिल स्वर गुन्जिदा झल्याँस्स ब्युँझिए झैं भान भयो।
अवन्तिका, मैले
बिर्सिसकेको अनुहार थियो, जो
आज एकाएक मस्तिष्कको रङ्गिन चित्रपटमा भ्रम जस्तै गरि धमिलो भईरहेको थियो।
शरिरैभरी काँडा पलाएजस्तो भयो। पोडिएम नेरै समातिरहेको किताबका पानाहरुमा कम्पन
महसुस गरें। अवन्तिका, नामै
मात्रले पनि म पेशेवर शिक्षक हुनुको आत्मबिश्वास गुमाइसकेको थिए। मेरो मुटुको चाल
आकाशिदै थियो। धन्न मस्तिष्कको एक कुनाले सर्वश्रेष्ठ प्राणी हुनुको लाज बचाउन
उद्दत थियो। लाज लुकाउदै "पुरा हुँदै छ" भन्नुको अर्को बिकल्प मेरो सामु
थिएन । त्यही बिकल्प हतियार बनाएँ।
असोजको शुरूवातसँगै सानो-तिनो
चाडपर्वले नेपाली हुनुको आभाष गराउदै थियो। काठ्माण्डौं बिस्तारै बिहान-साँझ सिरक
ओढ्न थाल्दै थियो। जाडो जति जति बढ्दै थियो, त्यति त्यति अवन्तिकाको अध्याय सिद्धयाउनु पर्ने नैतिक बाध्यताले
पिरोल्दै पनि थियो। काठमाण्डौँ जस्तो शहरमा मैले एक्लो जिन्दगी गुजारेको भए पनि
कहिल्यै अवन्तिकाका यादहरुले एक्लिन दिएनन्। ऊ नभएपनी ऊ हुनुको दिलासा दिईरहे।
झस्काईरहेँ। ब्युँझाइरहें।
विद्यालयले दसैंको बिदा सुनायो।
बिदा सुन्नेबित्तिकै मेरो मन बाख्राको पाठापाठी झैं बुरुक्क उफ्रियो। काठमाण्डौं, क्षणिक नै सहि, तर छोड्नुपर्ने भयो। मन
खुशीले चङ्गा भयो। तर त्यहि मनको एउटा कुनो भने चिन्ताको कालो बादलले गम्लङ्ग
अंगाल्यो। सबैका घर दशैंको मुखमा उज्याला होलान् तर आफ्नो घरमा बुढी आमा बाहेक कोहि
पनि त छैन - मन यसै भाँडिन थाल्यो। उमेरले तीन बीस नाघिसकेकी भएनी हाम्रो घरकी
बत्ती थिईन्-आमा। आमाको यादमा म आफ्ना निजि चाहनाहरु शिर झुकाउँदो थिएँ। खुट्टाहरु
घरतर्फ उद्देलित हुँदै थिए। लाग्दैथ्यो शरीरभरि रगत होइन, आमाको दुध बगिरहेछ, दौडिरहेछ।
काठमाण्डौं सपना सजाउन गएको थिएँ
तर मलाई माया गर्ने घर परिवार, आफन्त, साथीसँगी प्रायः सबै
गाँउमै थिए। त्यसैले त घर नउजेलिदा गाँउ उदास र गाँउ नउजेलिदा मन उदास हुन्थ्यो
मेरो। शहर, जहाँ
हरेक कुरा पाईन्छ त्यहाँ सुन्दरताको अभाब सधैं महसुस गरिरहें। बजारमा पाईने सुन्दर
बस्तुले मान्छेको मन सुन्दर बनाउन सक्थ्यो त शहर स्वर्ग हुन्थ्यो। तर यो त
दैत्यहरुको राजधानी सिवाय केही रहेन। यहाँ छल्न जान्नुपर्छ, गुलामी गर्न जान्नुपर्छ, स्वार्थी बन्न जान्नुपर्छ, मानव हुँ भन्ने सोच
बदल्न्न सक्नुपर्छ, अरुलाई
बेप्रवाह गरि आफु हिँड्न जान्नुपर्छ अनि बल्ल शहरियाको ताज पहिरिन पाईन्छ।
आधुनिकताको अत्तर छर्कन सकिन्छ। बौद्धिकताको प्रमाण देखाउन पाईन्छ।
३,४,५
को सिट भए गईन्छ नि घर?- दिपक
सरको ब्यङ्ग्यात्मक प्रश्न थियो यो। हामी एउटै बिद्यालयमा अध्यापन गर्थौं। उनि
समाजको खाका कोर्थे विद्यार्थीको मानसपटलमा, म गाईखाने बिद्याको प्रवर्द्धन गर्थें। उनि बिश्व समुदायको लेखाजोखा
गर्न सिकाउथे, म
मिहिन मिथकका बिम्बहरुमा घोत्लाउथें। उनि पृथ्वीका पहाड र समथल भुमिहरु सयर
गराउथें, म
तिनका कथा ब्यथा ओकल्थें। उनि मानव उत्पत्ति देखी आधुनिकतासम्मको बिकासक्रम
बुझाउथे, म
पिडा साट्दाको खुशी नियाल्थें। यसरी हाम्रो आध्यापन गर्ने बिषय फरक थियो जस्तो
हामी आफै थियौ। ऋणी हुनेथिएँ - उनको ब्यङ्ग्यको प्रतिउत्तर दिएँ मैले। जवाफमा उनले
कुटिल मुस्कान मुस्कुराए।
मन पुलकित भैरहेथ्यो। सम्झदैथें
पोहोरको दशैं। दशैमा झेलेको दशा। बिहान सबेरै बसपार्कमा टिकट काट्न लाइन लाउदाको
सास्ती। दिनभरी भोकभोकै बसपार्कको बसाइँ । कोटेश्वरदेखी नयाँ बसपार्कसम्म
सार्वजनिक यातायातमा मान्छेको धकेलाधकेल। पसिनाको वाक्वाकिलाग्दो अमिलो गन्ध।
यसपाली यो सबैबाट छुटकारा पाईने भो। लामो सास फेरें। मनमनै भनें- "म तिम्रो ऋणी
भएँ, दिपक"।
यस्तो खुशिको खबर जेटि(जगन्नाथ
तिमिल्सिना)लाई नसुनाई के बस्न सक्थें र! साथी जो थिए। त्योभन्दा बढी मित्र थिए।
साथी र मित्र बीचको फरक उनीसँगको सँगतले बुझाएको थियो मलाई। उमेरमा हाम्रा दाजु
थिए, ब्यबहार
र कामका काकाबा। सानोभन्दा सानो कामलाई नि जिम्मेवारी पुर्वक गर्ने उनको ढङ्ग
देखेर म "फिदा" हुन्थें। छुट्टीमा हुँदा भने बेफिक्री बालक बन्थे उनि।
हाँसोमजाक गर्थे। जीवनगाथा सुनाउथे। परिस्थिति र समयानुकूल परिवर्तन हुन सक्ने
अचम्म गुण थियो उनीमा "क्यामिलियन"मा झैं। "जेटि, बस टिकट फिक्स्ड गरे
दिपकले। था' पायौ? ३,४,५ भनेर सुनाउदै थें
मलाई" एकै सासमा भनें। अविश्वासका आँखाले साउती मार्दै सोधे,"टिकट खै त!" प्रश्न
भुइँमा खस्न नपाउदै दिपकले बेलिबिस्तार लगाए-"गाउँको दाईको गाडी हो। टिकट
फिक्स्ड छ। बरु सामान रेडि पार।" हाम्रो मनमा खुशीको लड्डु फुट्यो।
असोज १५ गते लाग्यौ हामी बसपार्क।
साथीहरुको मनमा के बिचार पलाइरहेथ्यो,थाहा छैन तर मलाई भने लागिरहेथ्यो घरै बसपार्क हो। हामी घर जाँदै
छौं। हामी चढेको ट्याक्सी कोटेश्वर, तिनकुने हुँदै बसपार्क लाग्दा सिमसिमे पानीले ट्याक्सी नुहाउदै थियो।
हामी भने घरको सम्झनाले निथ्रुक्क भिजेका थियौं। बसपार्क पुग्यौं। एकछिन् रमिते
बन्यौं। मान्छेलाई अरुको पिडा देख्दा मज्जा आउदो रहेछ। हामी नि खुशी भयौं। लाग्यो
रमिता हेर्ने दर्शक भयौ। खेलाडी होइन। नत्र कति सास्ती खप्नुपर्थ्यो।
हामीलाई बोकेर ल्याएको ट्याक्सी
नेपथ्यमा बिलिन हुँदै थियो। दिपक सर टिकट काटिदिने गाउँले दाजुलाई कुनै
इन्भेस्टिगेसन ब्युरोको सदस्यले जस्तै गरि खोज्दै थिए। फोनका बटनहरु बारम्बार
थिच्दै पनि थिए। मान्छे स्वयं मान्छेको भिडमा अस्तित्व बचाउन नसक्दो रहेछ। दिपकलाई
मान्छेको भिडमा रुमल्लिरहेको देख्दा यस्तै प्रतित भयो। केहि समय दिपकका आँखा चिल
बनेर भिड भित्र हराए। जेटि र म मौन थियौं। विद्यार्थीलाई मान्छे "काउन्टेबल
नाउन" हो भनेर उफ्रिने म, बसपार्कका
मान्छे देख्दा आफ्नै ज्ञान माथि शंका लागिरहेको थियो।
करिब करिब २० मिनेटको मौनता पछि
दिपक हाम्रो आँखा अगाडी आएर मुख चलाए - " उहाँ मेरो दाइ, बिकाश।" हामीले
एकाअर्कासँग हात मिलायौ। सामान्य परिचय आदानप्रदान गर्यौं। त्यसपछि बिकाश दाइले
डोर्याए, रोकिराखेका
लामबद्द बसहरु भएतिर। अविवाहित केटि असारमा हरियो चुरामा सजिए झैं हरियो रङ्ग
पोतिएको बसले मन बहुलठ्ठी बनाइसकेको थियो। दाइले झन् त्यही बसभित्र छिराउदै हाम्रो
सिटसँग भलाकुसारी गराए। डिलक्स गाडी, फोल्डिङ्ग सिट, बसमा
चढ्दै ओर्लदै गरेका यात्रु, ब्लाकमा
सिट मिलाइदिन्छु भन्दै गरेका दलाल अनि आँखाभरी घर सजाएर बसेका केहि यात्रु सबैतिर
नजर लगाईसकेको थिएँ मैले। "३ र ४ यो, अनि ५ यो। ल है त, सरहरु।
राम्रोसँग घर जानुहोला। शुभ यात्रा।"-यति भनेर बिकास दाइले पाहुना हुनुको
अनुभुति गराए। मलाई कुन्नी किन उनले "सर" भनी गरेको सम्बोधन पटक्कै
चित्त बुझेन। हामी झोला राखिवरी सिट कब्जा गर्न तर्फ ब्याकुल भयौं। ३ र ४ नंबरको
सिटमा दिपक र जेटि बसे। मैले चाहिं ५ मा आफ्नो शरीर बिसाएँ।
बसपार्कबाट छुट्ने बस कछुवाको
गतिमा बामे सर्छन्। काठ्माण्डौंलाई आफ्नो नागरिकता जिम्मा लाएदेखी बुझेको
ध्रुबसत्य कुरा थियो यो। हाम्रो बस, टिकटमा इंगित गरिएको समयभन्दा २० मिनेट ढिलो छुट्यो। गाडीभित्रका
यात्रुहरु कैदीजस्तै देखिन्थें। भिड गाडीको घ्यर्घ्यारसँगै बढ्दो थियो। हामी
गफगाफमा र बाहिरको परिदृश्यमा तल्लिन भयौं। गाडी चक्रपथको बाटो छिचोल्दै कतिखेर
कलंकी आइपुगेछ पत्तै चलेन। बसपार्क पछिको बसपार्क हो कलंकी जहाँ मान्छेको मोलमोलाइ
गाडीको सिटसंग गरिन्छ। पुष्टकारी, चिसो
पानी, .......पत्रिका, लेज, कुर्कुरे, ...........घडी, चस्मा, सिक्री, औठी,.......अनि तन्ना बेच्नेहरुको
जन्तीले हर कोहिको बेचैनी बढाउँदो थियो। गाडी जति रोकिन्थ्यो मनमा तनाव त्यति
बढ्थ्यो। कलंकीमा पनि लगभग १५ मिनेटको भलाकुसारी पश्चात् गाडी बामे सर्न थाल्यो।
कोही आएर मेरै छेऊ केहि नभनी बसेको महसुस गरें। झ्याल बाहिरको दृश्य कैद गर्दै
गरेका मेरा आँखा सिटतिर तानिए। यतिबेरसम्म आफ्नै छेउको सिट खाली छ भन्नेसम्म
बिर्सेको रहेछु। कसैको स्पर्शले महसुस गरायो। तानिए एकाएक मेरा आँखाहरु अपरिचित
भएतिर।
अँध्यारोमा नि धपक्क बलिरहेको
अनुहार। ढाडसम्म खुल्ला छोडिएको केशरासि। बाटुला काला आँखा। कुनै स्केच बनाउदा
कोरिएका रेखा झैं आँखीभौं। आँखीभौं बिचमा हिमालझैं टल्किरहेको रातो टिकि। चुच्चो
परेको नाक। पिपलपाते ओठ। पहेंलो कुर्तासुरुवाल। बादलझैं भ्रम पैदा गर्ने सेतो
चुन्नी। सिनित्त परेको पातलो शरीर। होम गर्दा बालिने अगरबत्ती झैं शरिरबाट
निस्किरहेको अत्तरको बासना। हातमा एउटा कफि कलरको ह्यन्ड्ब्याग। ह्यन्ड्ब्यागबाट
चिहाइरहेको रातो रुमाल। मेरो मन नतानेको कुनै कुरा थिएन। म रक्सीले लठ्ठ बनाएको
जड्याहा झैँ पुकलित भैरहेको थिएँ। मैले एकटकले हेरेको थाहा पाईन् क्यारे अलि सजक
भईन्। सम्हालिईन्। उनलाई भन्दा अफ्ठ्यारो मैले महसुस गरें र टाउको बिपरित दिशातर्फ
मन नलाई नलाई पनि बटारें।
मनभित्रको "ट्रेलर" नै
खत्तम भो भन्ने लागिरहेथ्यो। "क्लाईमेक्स"ले पैठेजोरी खोजेजस्तो अनुभुत
भै'रहेथ्यो।
भन्छन् नि मान्छेको असली परिक्षा अफ्ठ्यारो स्थितिमा हुन्छ। परिक्षा प्रश्नपत्र
बिनै दिनुपर्छ- चिताएको थिइन। स्थितिलाई सामान्य बनाउने हेतुले आफै मुख
फोडें-तपाईँ कहाँसम्म? पश्चिम
- निकै सुख्खा जवाफ थियो। पुर्व जाने त गाडी नै होइन- हावामा तिर चलाउदै भनें।
बुटवल- उनले मुस्कान दाईजो दिदै भनेकी थिइन्। मलाई भने साथीहरुले जिस्काइरहेको
निकैबेर देखी ख्याल नै गरेको रहेनछु। उनि भर्खर खुल्दै थिईन्। म भने सुस्ताउदो
भएँ।
गाडी उबडखाबड घुम्तिहरु छिचोल्दै अगाडि बढ्दै
थियो। धार्केको साइनबोर्ड गाडीको उज्यालोमा कतै बिलिन भयो। निद्राले निम्तो दिन
बिर्सिएको थियो सायद। आँखामा बेचैनी महसुस गरिरहेको थिए। मुटु बिनाअर्थ अलि
बेस्सरी धड्कदै थियो। चाहेर पनि आफुलाई आफ्नो काबुमा बाँध्न सकिरहेको थिइन।
बाहिरको अन्धकार जस्तै निस्पट्ट अँध्यारो भै'रहेको थ्यो मेरो
चेतन मस्तिष्कको संसार। लागिरहेथ्यो मलाई कसैले सम्मोहित गरिसकेको छ। तपाई
काठ्माण्डौँमा के गर्नुहुन्छ- मेरो मौनता चिर्दै भनिन् उनले। पढ्दै छु- निर्दोष
बालकले झैं उत्तर दिएँ। "
कुन लेभल,
कहाँ
पढ्नुहुन्छ?"
"मास्टर्स, टि.यु."- जस्तो पश्न उस्तै उत्तर दिदै
भनें।
तपाई नि?
- मैले
प्रश्न सोध्ने आँट जुटाए।
"पढ्छु तपाईले
जस्तै तर त्यति धेरैमा चाहिं होइन। प्लस टु फाईनल एयर।"
कलेजको न्वारन चाहिँ अहिलेसम्म भएको छैन?- मुस्कुराएको हेर्न चाहन्थें म।
"हा हा हा....
सेण्ट जेभिएर्स, मैले चिन्नु
अगाडि नै न्वारन गरिसक्या छन् ।" - उनको स्वतस्फूर्त हाँसोले मनमा खुशिको
सुनामी ल्याइदियो। यस्तै कुराकानीमा मग्न थियौं हामी। बसका प्रायः यात्रुहरू पनि
निदाइसकेका थिए। बस १२ बजेतिर रामनगर खाना खान रोकियो। आधी रातमा कसलाई के खान मन
लाग्दो हो र! थोरै मात्र यात्रुहरु बसबाट ओर्लिएका थिए। ओर्लिएका मध्ये पनि
धेरैजसो चिया, चटपटे, चाउमिन,
चिसो, चाउचाउ मै ब्यस्त देखिन्थें। निदले। निदले
लोलाएका उनका आँखालाई दु:ख दिदै ओर्लिए म बसबाट। सँगै ओर्लिए दिपक र जेटि पनि।
त्यसपछी के चाहियो- के छ? कुरा कहाँ
पुग्यो? डेटिङ्ग कस्तो
चलिरा'छ?
भन्दै
जिस्काउन लागे दुबैजना। मेरो भने मन लाजले रातो-निलो भईसकेको थियो। आफ्नो लाज
चाउमिनसितै निले मैले। साथ दिए साथीहरुले पनि। चियासँगै खाजाको बिधिवत् अन्त्यष्टी
गरियो। सबैले आ-आफ्नो खाजाको पैसा तिर्यौ। बसले पनि निर्धारित समय समाप्त भएको
जानकारी आफ्नो घ्यारघ्यार आवाजसँगै दियो। सबैजना बसभित्र चढे। हामी पनि बसभित्र
छिर्यौ। छिर्नु अगाडी एक बोत्तल चिसो कोक किनें। खलासीले गाडीको ढोका ढक्ढकायो।
अनि धोद्रो स्वर निकाल्दै गाडी बढ्यो गन्तव्यतिर।
सिटमा गएर बसेपश्चात् लाग्यो- खाना
खान नबोलाएर गल्ती गरेँ। तिमी खाजा खान निस्किनौ?- मनभित्रबाट स्वच्छन्द निस्किएको प्रश्न थियो यो। मेरो मनले
"तपाईं"लाई "तिमी"ले प्रतिस्थापन गरेको थियो। "उहुँ, केहि खान मनै छैन।"-
आधा निद्रा आँखामा साँचेर बोल्दै थिईन् उनि। "लौ! कोक खाऊ। अलिकति फ्रेस
होऊ।"- हक जताउन मन लाग्यो। "कोक नि खान्छौ है! पिउने कुरा केहि छैन?" निदमै प्रहार गरेको
व्यंग्य मलाई निकै मिठो लागिरहेको थियो। हामी नजिकिएको आभाष भैरहेथ्यो। कम्तिमा
हामिले अपिरिचितलाई झैं हजुर,तपाईं
भन्न छोडिसकेका थियौं । मैले केहि नसोची कोकको बोत्तल उनको हातमा थमाए। उनले
बोत्तलबाट ३ घुट्की पिईन्। कोकसँगै मेरो आत्मा पनि आफुमा समाहित गरिन्।
कुरा गर्दा गर्दै गाडीमा कतिखेर
निदाएछौं र सुर्यले बाजी मारेछ पत्तै भएन। झल्याँस्स ब्युतिंदा गाडीको खलासी
"चौराहा झर्नुस्" भन्दै लेद्रो तान्दै थियो। गाडीमा धेरैजसो सिट खाली
भईसकेका थिए। मनमा खुशीले परेड खेलिरहेको थियो। तर कताकता मनको एउटा कुनामा
काँडाले घोचिरहेको झैं अनुभुति भईरहेको थियो। कसैसँग बिछोडिदा यति पिडा हुन्छ भनेर
सोचेको पनि थिईन। मेरो मनबाट छचल्किरहेका प्रेमिल आँशुको गंगा आँखाको बाँध बाधेर
रोकिरहेको थियो। शरिर चिसिदै थियो। मुटुको बेग बिस्तारै कम हुँदै थियो। रक्तनलिहरु
रगत संचार गर्न नसेकेर लाचार भइरहेका थिए। सधैं दाहिने हुन् भनेर आशिर्वाद थापेको
म आज दैव दायाँबायाँ कतै हाजिर थिएनन्। सधैं मेरो मुटु भन्ने मेरा साथीहरु मेरो
मुटुको स्तिथीदेखी बेखबर थिए। हावा उल्टो बहिरहेको थियो मेरा आशाहरु लिएर। आलिङ्गनमा कस्न आत्तुर
मेरा हातहरु बिदाई भन्न बाध्य थिए। मुटुको क्रन्धन मुखसम्म आएर फुट्न सकिरहेको
थिएन। मेरो खुशिको पल बिसर्जित हुँदै थियो। समयको न आदि छ न अन्त भन्ने कथन झुठो
लाग्दै थियो। मेरो पोल्टाको समय सकिदै थियो। सकियो।
नियतिले सबैलाई कहाँ खुशी दिन सक्छ
र! उनिसँग छुटिएपछी घाइते बाध झैं धेरै दिन भौतारिए। छट्पटाए। अँध्यारोमा साईनो जोडेको
सम्बन्धको अनुहार सम्झन खोजें। तर बर्खाको खोला जस्तै मेरो सम्झना धमिलिन्थ्यो र
छिनभरमै धेरै टाढा बगेर इतिहास बन्थ्यो। बिल्नो इतिहास । टर्रो इतिहास। हावा
इतिहास। उनको नाम सम्झन खोजें। अहँ, पत्तै पाइन। पछि चाल पाएँ, मैले उनिसँग सोध्दै सोधेनछु। आधुनिक डिजिटल जमानामा फोन नंम्बर माग्न
सकेनछु। याद आयो "हुतिहारा" भन्दै आमाले गाली गरेको। "नालायक"
भन्दै बाबाले धिक्कारेको। सबै सबै चरितार्थ भएको आभाष भईरहेथ्यो। तर शोक मनाउनु र
आफैलाई सराप्नु बाहेक कुनै बिकल्प थिएन। र बिकल्प प्रयोग गर्दा कसैलाई फाईदा
पुग्नेवाला पनि थिएन। त्यसैले, १५
दिनको दशैं बिदा रमाइलो कम, दशा
बढी झेलेर काठमाण्डौं फर्कियौं। फर्किदा पनि हामी तीन- जेटि, दिपक र म- संगसँगै
फर्कियौं।
राजधानीको काममा ब्यस्त भएको चार
पाँच महिना पछि प्रमोद दाइसँग भलाकुसारी गर्ने मौका जुर्यो। उनि पेशाले पत्रकार
हुन्। काठ्माण्डौंमा अनलाइन मिडियामा काम गर्दा रहेछन्। कुराकानीको सिलसिलामा
दाइले राम्रो कुनै कथा छ भने देऊ न भनेर माग्नुभयो। मसँग कथा तयारी अवस्थामा थिएन।
थियो त अपुरो जीवन अध्याय। त्यसैले, भनें- "मसँग अपुरो कथा छ, पुरा गर्दिने हो भनेदेखुन् पठाइदिन्छु।" "एकजनाले मसँग
मागेर हैरानै पारि'राछे।
मसँग पुरा न अपुरा, कथै
छैन। जस्तो छ अलिकति फिनिसिङ्ग दिएर पठाइदेऊ न! म मेल आईडी दिम्ला उसको।"
प्रमोद दाइले आफ्नो ब्यथा पोखे। मनमनै सोचें, आफ्नो जीवनमा लागु हुन नसकेको कथा कुनै अनलाइन मिडियालाई काम लागे नि
कथाको अस्तित्व रहन्छ। दुईदिन पश्चात् दाइले मेल आईडी म्यासेज गरि
पठाइदिए। दाइले पठाइदिएको मेलमा "एडिट र फिनिसिङ्ग गर्न बाँकी कथा"
सब्जेटको रुपमा लेखेर अहिलेसम्म जे जति सकेको थिए, त्यस्तै पठाइदिए। २/३ दिनसम्म कुनै रेस्पोन्स आएन। मनमनै लाग्यो-
फेरि बक्रा बनें।
शुक्रबारको दिन। बिहानै क्याम्पस
हानिए पढाउन। कक्षामा पढाइरहदा म्यासेजको घण्टी बज्यो। फोन हेरें। इमेल रहेछ।
लेखिएको थियो- "म तपाईलाई भेटेर केहि कुरा गर्न चाहन्छु। माफ गर्नुहोला, तपाईलाई नभेटि, कुराकानी नगरी एडिटेट कथा
छप्न मन लागेन। म पर्खिनेछु। रातो भालेमा। ठिक ५ बजे।" अचम्म लाग्यो सर्जकले
नै छाप्नु भनिसकेपछि किन दु:ख बिसाएको होला भनी। कसैलाई केहि खबर नगरी ठिक समयमै
पुगेँ - रातो भाले। ३ पृष्ठ लामो कथा थमाउदै एउटी फुच्चि नानीले
"कङ्ग्राचुलेसन" सुनाई। कथा मेरो थियो तर अन्त्य अरु कसैको। कौतुहल
जाग्यो फिनिसिङ्ग कस्तो भयो त! घोत्लिए सफेद पानामा कोरिएका अश्वेत अक्षरमाथी।
कथामा भिज्दै गएँ। पुराना यादहरु एकाएक ताजा हुँदै गए। ढुकढुकी पहिलेको झैँ बेचैन
हुन थाल्यो। कसैको शरीरबाट आईरहेको अत्तरले मेरो एकाग्रता भङ्ग गर्ने प्रयास
गरिरहेको थियो। निक्कै कोशिस गर्दा पनि नाक र आँखाको सन्तुलन कायम गर्न सकिन र
फर्किए अत्तरको खानि तर्फ।
निर्दोष तर परिचितअनुहार। बग्दै
गरेका आँखा। झस्किएँ। लाग्यो सपना हो। त्यसैबेला काप्दै गरेका ओठ चलायमान भए -
"आरोहण, तिमी
म बिना जति तड्पियौ नि, म
पनि उति नै तड्पेकी छु। गल्ती हामी दुईटैको थियो, मनको आवाज मुखले खोल्न सकेनौं। तिम्रो र मेरो बसको यात्रा भाग्यले
जुराएको हो। फर्केर फेरि तिम्रो कथा मैले नै एडिट गर्नुपर्ने संयोग नि भावीको लेखा
थियो। मलाई अब कहिल्यै छोडेर नजाऊ है!" जीवनमा पहिलोपल्ट एहसास भयो, साँचो प्रेममा "आई लभ
यु" नभनेरै पनि प्रेमको इजहार हुँदो रहेछ। पहिलोपल्ट यो वाक्य आफैमा फिक्का
फिक्का लाग्यो। जुन नभनेरै पनि प्रेमको आँकुरा पलाउदो रहेछ। झाँगिदो रहेछ। म अवाक्
थिएँ। उनलाई कसिलो आलिङ्गनमा बेर्दै सुँक्क सुँक्क गर्दै थिएँ म। यसपाली अरु सबै
रमिते थिएँ मेरो जीवनकथाको, म
स्वयं खेलाडी, अवन्तिकाको
जीवन खेलाडी।