मैले देखेको धरातल
जहाँ बिज्ञान पनि जोखना हेर्छ।
मेरो शिरमाथिको आकाश
जहाँ बिचारका परेवाहरु उडान भर्छन्।
मैले बोकेको पुर्खाको इतिहास
जहाँ बेद र पुराणहरु हाँसिरहन्छन्।
मैले कोरेको संस्कृति र परम्परा
जहाँ आत्मसम्मानको आकृती जीवन्त छ।
हो!
हो, त्यही सगरमा बसेर भविष्य कल्पदा
लाखौंले आमालाई धिक्कारेको सुन्छु।
हरियो डलरको सपना बाँडेर
सुगन्धित पसिनालाई तौलेको पाउँछु।
नीति र नियमको क्युरेट गरेर
नेपाललाई अतिरञ्जित गरेको देख्छु।
राष्ट्रिय गानको शाब्दिक अभयवलाई पनि
आइटम सँगितसँग जबर्जस्त मर्काएको पाउँछु।
त्यहिबेला,
हो, त्यहिबेला
आफू उभिएको धरातल फाटेर आउँछ,
रगत उम्लिन्छ, शिरको ढाकाटोपी लाजले निहुँरिन्छ
बिरता र बहादुरिताको चट्याङ
मुटुको केन्द्रमा पर्छ अनि
एकाएक ग्रहण लाग्छ
मुस्कुराउदै गरेका कलेटी ओठहरुमा
सपना देख्दै गरेका निर्दोष आँखाहरुमा
गर्छु केही जिवनमा भनेर
सधैं धस्सिरहेका बलिष्ठ पाखुराहरुमा।।
बयबृद्दहरुको आँखाको पानी संचय गर्न नसक्ने
बहुलठ्ठी बयस्क जमातको हुंकार सुन्दा
लज्जित हुन्छु "नेपाली" हुँ भन्न ।
सभ्यताको कुम्लो बोकेर
असभ्यताको बिज्ञापन गर्दै
समाज परिवर्तनको नारा घोक्नेहरु देख्दा
द्रौपदीको चिरहरण सम्झन्छु ।।
ज्ञान र बिज्ञानको उदगमलाई
बुर्जुवाको पगरी गुँथेको सुन्दा
आश्चर्यचकित हुँदै गम्ने गर्छु-
ती आधुनिक भनौदाहरुको भ्रुण
कुन यन्त्रबाट तयार पारियो होला
र कुन इन्धनको प्रयोगले
भावनाहरुको टुसो पलायो होला?
सबै बुझेकाहरु लाटा भएपछी
अनि लाटा सबै पाखा लागेपछी
समयले पाठ पढाउनु पर्ने भएको छ-
खोला सुकाउदैमा मुहान सुक्दैन ।
बादलले छेक्दैमा घाम चिसिदैन।
आमालाई बिर्सदैमा ममता मर्दैन।
