सम्झना बिर्सना सलललल...
झन् झन् बढ्यो तिर्सना सलललल...
दिउँसोको दुई बजाइरहेको मोबाइलको डिजिटल समयलाई मात दिँदै घन्किरहेको बसभित्रको सुरिलो आवाज । बसको खलासी, ड्राइभरभन्दा छिटो र निर्धक्कका साथ बसले छिचोल्दै पुग्ने गन्तब्यसम्मको नाम भट्ट्याउँदो छ। मलखातमा खाँदेको गुन्द्रुकभन्दा अमिला मान्छेहरु थाकेका आँखामा घर सजाउदा छन्। दशैंमा सधैं भगवान् दाहिना हुन् भनेर आशिर्वाद थापेको म - आज पशुपतिनाथ मेरो दाहिने छैनन्। मलाई पशुपतिनाथ भन्दा गीतमा दिलचस्वी जागेको छ।
सम्झना बिर्सना सलललल...
झन् झन् बढ्यो तिर्सना सलललल...
पेशाले गीतसँग सातपुस्ते नाता गाँस्दैन । न त सातपुस्ता मध्धे कोही यो गीतको ऋण खाएको नै छ। तर बसभित्र अपरिचित बनेर बसेको मेरो मन यसै आँखाबाट छचल्किन खोज्दैछ। बिडम्बना गीतमा बिरहको रस छैन; नत्र त फुङ्ग उडेका केही अनुहार किन नसकी नसकी गायक बन्ने चेस्टा गर्दा हुन्। मन त्यसै बहुलाएको छ। मस्तिस्क स्वय मनलाई काबुमा राख्न असक्षम सावित भैरहेछ। गीतले कोहिको मनलाई उफार्दो छ, म एक हुँदो हुँँ, जो प्रतिकुल मौसम लिएर आँखाबाट बर्षात बर्षाउन उद्दत छु।
दिनैभरी थुप्रै मनलाई मुस्कुराएर फर्किने यो मन अहिले त्यसै बौराएको छ। शिक्षक- जो थुप्रै मस्तिस्कको भोक निभाएर फर्केको छ, अहिले उसैको मनमा आगो दन्दनी दन्किरहेछ। बजिरहेको गीत अनेकनेक शब्द छिचोल्दै फेरी त्यही शब्द सापटी लिन्छ -

झन् झन् बढ्यो तिर्सना सलललल...