रहरहरुको बिस्कुन सुकाएर बोराभरी भरी
पैसासँग प्रेमिल गुलाब बेच्दै गरेकी आमालाई
किन आउँदैन कहिल्यै
ह्यप्पी भ्यालेन्टाईन डे !
मृत्यु पर्खिएर अनाथालयमा
जल्न तम्तयार लासहरुलाई
किन "सरप्राइज" बोकेर आउँदैन
ह्यप्पी भ्यालेन्टाईन डे !
बिदेशी भूमिमा परिवारका खातिर
जल्दै गरेका सिंदुरहरुलाई
राहत बनेर किन आउँदैन कहिल्यै
ह्यप्पी भ्यालेन्टाईन डे !
पेट पाल्नैका निमित्त
बाटैभरी जीवन ओच्छ्याएर
मागिरहेका कचौराहरुमा
खुशी साटेर किन कोही भन्दैन -
ह्यप्पी भ्यालेन्टाईन डे !
फगत नक्कली फूलमा
प्रेमको जलप लगाएर
बन्द 'बार'मा बारम्बार
कम्मर मर्काउदैमा
बाबाको प्रेमिल छाती
गर्वले कहाँँ फुक्छ र?
पारदर्शी कपडामा तिखा
चाहकिला बत्तिहरुले
बारम्बार बलत्कार गरिरहँदा
आमाको इज्जत कहाँँ जोगिन्छ र?
गन्हाउने रक्सी सिनित्त पार्दै
निलिरहेका ति जिब्राहरुले
जति नै मिठो करार गरे पनि
पसिनाको कटु यथार्थलाई
गलत सावित गर्न कहाँँ सक्छ र?
प्रेमका खातिर आँफै होमिएका
पादरी बा ज्युदा हुँदा हुन् त आज
पुर्पुरोमा हात राख्दै धिक्कार्दा हुन्
यो ब्युरोक्रेटहरुको रासलीला,
यो प्रगतिशिलहरुको प्रपञ्च,
अनि
आधुनिक समाजको अर्धनङ्गता ।
ब्यापारिक घरानाका बिलासिहरु
र पश्चिमी मनका आलसीहरु -
कस्ले बुझाउला खै यिनिहरुलाई कि
प्रेम
९ महिना लात्तिले बजार्दा नि
मुस्कुराउदै सुम्सुमाएका हातहरुमा हुन्छ।
निस्तो आटो र खोले खाएर
हामीलाई संसार देखाउन 'घोडा' बनेका
बाबाको आशिर्वादमा हुन्छ ।
जन्मघर छोडेर तिमीसँगै मर्ने बाँच्ने
कसम खाएकी प्रियाको आशमा हुन्छ ।
आफ्नै रहरहरु घुटुक्क थुकसँगै निलेर
रातो सिंदुर र हरियो पोते हसाइरहन
पसिना बन्धकी राख्ने
प्रियतमको यादमा हुन्छ।

1 comments:
wa wa
Post a Comment